जेलका बन्दीहरूलाई काम नगरिकन कानुनले व्यवस्था गरेअनुरूपको सुविधा पाउने अधिकार छ तर माओवादीको हिरासतमा रहेका सल्यानका दीपक धितालले भने इच्छा नलागे पनि बाध्यात्मक रूपमा काम गर्नुपर्दछ । २०६४ मंसिर ७ गते माओवादीद्वारा सल्यान जिल्लाको सिउरत गाविस-६ को सिर्पा भन्ने स्थानमा रहेको माओवादीको नमूना विद्यालयको स्थलगत अध्यन गर्न जान लागेको इन्सेकको अनुगमन टोलीसमक्ष सल्यानको खरिबोटबाट जस्तापाता बोकेर मोडल स्कुलतर्फ जान लागेका दीपकले मलिन अनुहार पार्दै भने, 'माओवादीले दिएको आदेश अनुसार काम नगरे पेटभरि खान पाइन्न र कहिलेकाँही यातनाको शिकार समेत बन्नुपर्दछ । "ज्यान मारेको आरोपमा विगत ७ वर्षेदेखि माओवादीले बन्दी बनाएका दीपकलाई हाल मोडल स्कुलमा श्रमकैदमा राखिएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी मान्यताअनुसार कुनै पनि व्यक्तिलाई न्यायपालिकाले दोषी नठहराएसम्म थुनामा राख्न तथा कुनै प्रकारको कारबाही गर्न पाइदैन। विद्रोही पार्टीले युद्घकालमा स्थापना गरेको जनअदालतले गरेको कारबाहीले कानुनी रूपमा कस्तो मान्यता पाउँछ त्यो त दीपकलाई थाहा छैन तर उनलाई एउटा चिन्ताले पिरोलिरहेको छ - कतै माओवादीले दिएको १० वर्षे श्रमकैद काटेपछि पुन राज्यको निकायले कारबाही गर्ने त होइन ?
सल्यान जिल्लाकै डिला रोका माओवादीको मोडल स्कुलमा अन्य बालबालिकाले पढेको हेर्दै ती बालबालिकाका लागि खाना पकाउन र जुठो भाँडा माझन बाध्य छिन् । कक्षा ५ मा पढदै गरेकी रोकालाई विगत एक वर्षेदेखि माओवादीले श्रमकैदमा राखेका हुन् । आफू एक वर्षको हुँदा आफ्नो बाबु गुमाएकी डिला आफ्नो मामाको घरमा बसेर सुन्दर भविष्यको कल्पना गर्दै आफ्नो अध्ययनलाई अगाडि बढाउँदै थिइन् । एक दिन मामाकी छोरीसँग खेल्दाखेल्दै उनले हानेको सानो ढुङ्गाले मामाकी छोरीको ज्यान लिएपछि माओवादीले उनलाई जनअदालतको आदेश भन्दै साढे दुई वर्ष श्रमकैदमा पठाए । कानुनीरूपमा कुनै अपराधमा संलग्न बालबालिकालाई समेत जेलमा नराखी सुधारगृहमा राखेर उनीहरूको विकसित हुन पाउने अधिकारको सम्मान गरिनुपर्ने भए पनि डिला माओवादीको श्रमकैदमा कडा परिश्रम गर्न बाध्य छिन् । केवल १४/१५ वर्षको जस्ति देखिने डिलालाई आफ्नो उमेरको हेक्का त छैन तर उनी आफ्नो भविष्य अन्धकार बन्दै गएकोप्रति भने चिन्तित छिन् । इन्सेकको अनुगमन टोलीसँग उनले भनिन्, 'एक वर्षको हुँदा बाबुको मृत्यु भयो तैपनि जेनतेन मावलीको सहयोगमा पढ्दै आएकी थिएँ, त्यो पनि श्रमकैदमा परेपछि बिग्रियो । अब त डेढ वर्षश्रमकैद काटेर निस्किएपछि पनि कसैले सहयोग नगरेमा पढ्न सक्ने अवस्था छैन ।"
यी त केवल प्रतिनिधिमूलक घटना मात्र हुन् । माओवादीको श्रमकैदमा सल्यान जिल्लामा मात्र छ जना अन्धकार भविष्य बिताउन बाध्य छन् । जेलमा रहेका मानिसले स्वेच्छाले काम गरेमा समेत उनीहरूको कामको उचित पारिश्रमिक दिनुपर्ने अन्तराष्ट्रिय मान्यता भए पनि माओवादीका बन्दीहरू बिना पारिश्रमिक कडा परिश्रम गर्न बाध्य भएका छन् । प्राकृतिक न्यायको सिद्धान्त अनुसार एउटा व्यक्तिलाई एउटै